२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

संसद् विघटन मध्यावधि चुनाव गराउनको निम्ति हाेइन् : चित्रबहादुर केसी

- विशेष खबर सोमबार १९, माघ २०७७ ०८:१५

संसद् विघटन मध्यावधि चुनाव गराउनको निम्ति हाेइन् : चित्रबहादुर केसी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् ।

सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद् विघटन र प्रतिगमनको खतरा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद् विघटन नगरिएको जिकिर गरेका हुन् । चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाइ छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाइ छ ।

त्यस्तै समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए । आफूहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ । यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धि पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने पनि उनले बताए ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए । यसको परीक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको वैधानिकता, कानुनी पक्ष, औचित्य र सान्दर्भिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उनको भनाइ थियो । सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उनको विश्वास छ ।

नेकपा दाहाल–नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीसँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याइँ गरेको बताए ।


#जनमोर्चा # चित्रबहादुर केसी #संसद् विघटन # चित्रबहादुर केसी

प्रतिकृया दिनुहोस