२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

अदालतको बारेमा कांग्रेस बोल्दैन भनेर भ्रम नराखौं : गगन थापा

- विशेष खबर शुक्रबार १६, माघ २०७७ ०८:०२

अदालतको बारेमा कांग्रेस बोल्दैन भनेर भ्रम नराखौं : गगन थापा

काठमाडौं। कांग्रेस नेता गगन थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरेका छन् ।

प्रतिनिधिसधा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौंले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधनको क्रममा नेता थापाले कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै अदालतमा भएको प्रतिनिधिसभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए ।

'पञ्‍चायतको बेलामा, फाँसी मुद्दा लाग्ने बेला अदालततर्फ हेरेर बोलेका बीपीका कार्यकर्ताहरु आज रामशाहपथ देखेर पर पर भागेर अदालतको बारेमा बोल्दैन भन्‍ने कायरहरुमात्रै हुन सक्छन्,' नेता थापाले भने, 'अदालतको बारेमा कांग्रेस बोल्दैन भनेर भ्रम नराखौं । अदालतमा बहस भइरहेको विषयमा कांग्रेसले बोलिसक्यो, पुस ५ गतेको कदम असंवैधानिक हो ।'

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भन्दै नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे । 'बीपी कोइरालाले सर्वोच्च अदालततर्फ हेरेर भन्नुभयो यो अदालत हो श्रीमान् न्यायको चारकिल्ला भित्र न्यायको हत्या नहोस् । दायाँ नहेर्नुस् । बायाँ नहेर्नुस् । वर नहेर्नुस् । पर नहेर्नुस् । न्याय गर्नुस् । विवेक पुर्‍याउनुस्', नेता थापाले स्मरण गराए ।

अहिलेको प्रश्‍न संविधान र न्यायको रहेको भन्दै नेता थापाले यसैमा कांग्रेस अडिग रहेको बताए । अहिले निर्वाचनको पक्षमा कि संसद्‌ पुनर्स्थापनाको पक्षमा भन्ने प्रश्‍न गलत भन्दै उनले संविधानको पक्षमा हो कि होइन ? भन्‍ने प्रश्‍न सही रहेको बताए ।

खेल मैदान रहेमात्रै गोल गर्न पाइने भन्दै उनले खेल मैदान राख्ने पद्धतिका लागि कांग्रेसले लडेको उल्लेख गरे । 'खेल मैदान रहे न गोल हानौंला । खेल मैदान नै रहेन भने गोल कहाँ गएर हान्ने हो ? अनि खेल मैदान राख्ने पद्धतिका लागि लडेर आएको कांग्रेस होइन ?' उनको प्रश्‍न थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन विषयमा बोल्न मिल्दैन, अदालतलाई धम्क्याउने, तर्साउने काम गर्नु हुँदैन भन्ने अभिव्यक्ति दिएपछि नेता थापाको यस्तो भनाइ आएको हो ।

यस्तै कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरे । उनले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद् भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनले प्रस्ट पारे । उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।


प्रतिकृया दिनुहोस