- विशेष खबर बुधबार ०७, माघ २०७७ ०६:४९
काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २९ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका हुन् । उनले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गरे ।
पोखरेलले नेकपा कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तिमा ६० दिन लाग्ने बताए । निर्वाचनसम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौं लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उनको भनाइ छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले अदालतले संसद् विघटन अथवा संसद् पुन:स्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नुहुने टिप्पणी गरे । मुलुक मुठभेडको राजनीतिमा जाने उनको भनाइ छ । उनले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभइ सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटीहरुलाई सच्याउनुपर्ने बताए । वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको उनले औंल्याए । पोखरेलले संसद्लाई बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरुले विश्राम लिनुपर्ने धारणा राखे ।
प्रतिकृया दिनुहोस