- विशेष खबर आइतबार २६, पुष २०७७ ०२:४८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा स्थिरता छाएको दाबी गरेका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान हुने केही दिन पहिले मात्रै विघटनको सिफारिस गरेका उनले आफूलाई कसैले चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसिभा विघटन गर्न सिफारिस गरेका थिए । उनको सिफारिसको केही घण्टामा नै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन् । सोही दिन नेकपाकै प्रतिनिधिसभाका ९० सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रसस्ताव दर्ता गराएका थिए ।
प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारण आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भनेर प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रतिनिधिसभामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षका सांसदहरूले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रधानमन्त्री ओलीले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका थिए ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिलेको अवस्था स्थायित्वको रहेको बताएका छन् । उनले भने, 'अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन् ।' आफूलाई जनताले प्रधानमन्त्री बनाएको भन्दै उनले पदबाट राजीनामा दिएर जोसुकैलाई हस्तान्तरण गर्न नहुने जिकिर गरे ।
मुलुकमा ६-६ महिनामा प्रधानमन्त्री परिवर्तन गरेर अस्थिरता ल्याउन खोजिएको अवस्थालाई ताजा जनादेशको घोषणा गरेर रोकिदिएको ओलीको भनाइ थियो ।
आफूसँग ६४ प्रतिशत बहुमत रहेको ओलीले दोहोर्याएका छन् । उनले आफू संविधानको धारा ७६ को १ अनुसार प्रधानमन्त्री निर्वाचित भएको पनि दाबी गरेका छन् । तर, उनी संविधानको धारा ७६ को उपधारा २ अनुसार निर्वाचित भएका हुन् । राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्री निर्वाचित गर्दा संविधानको धारा ७६ को २ अनुसार निर्वाचित गरिएको विज्ञप्ति जारी गरेका थिए । उनले संविधानको धारा ७६ का अन्य उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्दा 'हर्स ट्रेडिङ' हुने र '६-६ महिनामा सरकार फेरिने' अवस्था आउने बताएका छन् ।
संसद विघटन गर्नुको कारण सभामुख र पार्टीका अन्य नेताहरू रहेको पनि प्रधानमन्त्री ओलीकी दाबी थियो । उनले सरकारलाई काम गर्न नदिने, सरकारका काममा बखेडा खडा गर्ने, जहिले पनि झमेला मात्रै खडा गर्ने गरिएकाले तथा पार्टी अध्यक्ष र प्रधानमन्त्री मागेकाले संसद विघटन गरेको पनि दाबी गरे ।
ओलीले जनताले विधि र पद्दति नजान्ने भन्दै त्यस्ता कुरा गर्न नहुने बताए । उनले जनतालाई गास, बास र कपास, शिक्षा र विकासको कुरा मात्रै थाहा हुने भन्दै विधि र पद्दतिको कुरा जनताका सामू गर्न नहुने बताए ।
प्रतिकृया दिनुहोस