- विशेष खबर शुक्रबार २४, पुष २०७७ १०:२३
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेसँगै बिहीबार शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको छ।
नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रिय वाणिज्य बैंकले जानकारी दिएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरलका सम्धी उपेन्द्र कोइरालाको पक्षमा चौतर्फी विरोध भएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका हुन् । सञ्चालक समिति बैठकले बिहीबार बिहान शर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले कोइरालालाई बैंकको अध्यक्ष बनाउन पठाइए पनि चौतर्फी विरोध भएपछि शर्मालाई नियुक्त गरिएको हो ।
विरोधकै कारण सरकारले नियुक्त गरेको ४० दिनपछि (गत असोज दोस्रो साता) कोइरालाले सञ्चालकको शपथ लिएका थिए । सञ्चालकमध्येबाटै अध्यक्ष चुन्ने व्यवस्थाअनुसार कोइरालालाई अध्यक्ष बनाउने बैंकको योजना थियो ।
कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले नियुक्त गरेका थिए । विष्णु पौडेल अर्थमन्त्री बनेपछि अर्थ मन्त्रालयबाट शर्मालाई अध्यक्ष बनाउन निर्देशन आएपछि बैंक सञ्चालक समितिले उनैलाई अध्यक्ष चुनेको हो ।
बिहीबारको बैठकमा सञ्चालक जनककुमार बरालले शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव पेस गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण पाँच महिनासम्म पनि बैंक अध्यक्षविहीन थियो ।
प्रतिकृया दिनुहोस