- विशेष खबर शुक्रबार १७, पुष २०७७ ०३:४४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् ।
शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए ।
उनले भने, ‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।’
थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताए ।
सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’
संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताए ।
प्रतिकृया दिनुहोस