- विशेष खबर शुक्रबार १७, पुष २०७७ ०९:५७
काठमाडाैं । शुक्रबारदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दैछ। आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो। बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन्।
राष्ट्रिय सभामा ५९ जना सदस्य छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ। बेग्लाबेग्लै समूह क्रियाशील रहे पनि पार्टी औपचारिक रूपमा फुटेको भने छैन।
राष्ट्रिय सभामा नेकपाका ५० सदस्यमध्ये यसअघि भएको हस्ताक्षरमा २४ जना प्रचण्ड-नेपाल समूहमा उभिएका थिए।
नेकपा उपाध्यक्षसमेत रहेका वामदेव गौतम पनि राष्ट्रिय सभा सदस्य हुन्। तर उनी ओली, प्रचण्ड-नेपाल कतै पनि खुलेका छैनन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओली समूहका नेता हुन्। तर उनी निर्णायकबाहेक अरू बेला बोल्न मिल्दैन।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्नेमा नेपाली कांग्रेस र जसपा पनि छन्। कांग्रेसका ६ र जसपाका ३ तथा नेकपाका प्रचण्ड-नेपाल समूहका २४ जना सरकारको विपक्षमा छन्।
५९ जनामध्ये ३३ जना सरकारको विपक्षमा उभिँदा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिन्छ।
प्रतिकृया दिनुहोस