२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

सभापति देउवाले भने- ‘न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ र मान्दै आएका छौं’

- विशेष खबर सोमबार १३, पुष २०७७ ०४:३१

सभापति देउवाले भने- ‘न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ र मान्दै आएका छौं’
तस्बिरः रासस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताएका छन् । 

भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सोमबार सभापति देउवाले कांग्रेस न्यायालयलाई मान्ने पार्टी भएकाले अदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने बताएका हुन् ।

'अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता । अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन,' देउवाले भने, 'सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासी गर्न सक्ला तर अन्तिम निकाय भनेको न्यायालय हो । न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ र मान्दै आएका छौं ।'

सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सरकारले संसद् विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताए ।

सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपछि स्वीकार गर्ने सभापति देउवाले बताए । 'अदालतमा विचाराधीन मुद्दामा हाम्रो पार्टी केही भन्दैन । हामी अदालतको आदेश मान्नेछौं । देशभरीमा ओलीको असंवैधानिक, अप्रजातान्त्रिक कदमको विरुद्धमा हामी विरोध प्रदर्शन गर्नेछौं,' देउवाले थपे, 'हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस् हामी अदालतको आदेश मान्छौं । अदालतलको स्वविवेकीय अधिकार छ । अदालतको निर्णयसम्म पर्खिन्छौं । अदालतलको निर्णय मान्ने पार्टी हो, त्यसलाई स्वीकार गर्नेछौं ।'

प्रधानमन्त्री ओलीको कदमको विरोधमा आयोजित सभामा देउवाले पटकपटक अदालतमा विचाराधीन मुद्दामा यस्तै हुनुपर्छ भनेर पार्टीका कुनै पनि नेताले भन्न नहुने बताए । त्यसो गर्नु भनेको अदालतलाई धम्क्याएको हुने उनको भनाइ थियो । अदालतलाई धम्क्याएर र तर्साएर निर्णय नगराउने उनको भनाइ थियो ।

उनले पञ्चायतकालमा पनि अदालतबाट न्याय पाइएको स्मरण गर्दै अहिलेको अदालतले पनि स्वविवेकीय निर्णय लिने विश्वास व्यक्त गरे ।


#नेपाली काँँग्रेस #सभापति शेरबहादुर देउवा

प्रतिकृया दिनुहोस