- विशेष खबर शुक्रबार १०, पुष २०७७ ०३:५२
काठमाडौं । नेकपा अध्यक्ष (दाहाल-नेपाल पक्ष) माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको बताएका छन् । आफूहरूबीच ४९ वर्षको सहकार्य रहेको जानकारी दिँदै उनले प्रधानमन्त्री ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको बताएका छन् ।
दाहाल-नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, 'उहाँ कम्युनिस्ट मात्रै होइन, गणतन्त्र विरोधी मान्छे हो । गणतन्त्र नेपालमा आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । उहाँमा गणतन्त्रप्रति माया मोह छैन । संघीयताको पनि विरोधी हो ।'
प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति तानाशाही हुने गरेको नेपालको भनाइ थियो । उनले 'विचार नभएकालाई बैठकबाट एलर्जी हुन्छ' भनेका थिए ।
'केपि ओलीसँग ४९ वर्षसँगको सहकार्य हो । प्रचण्डसँग ३५ वर्षसम्मको सहकार्य हो । सहकार्यको लामो छ,' अध्यक्ष नेपालले भने । उनले ओलीमा अहंकार रहेको पनि भने । पदले उनमा थप अहंकार पैदा गरेको नेपालको भनाइ थियो ।
आधिकारीक पार्टी आफूहरू रहेको बताउँदै नेपालले त्यसका सबै सम्पति आफूहरूको हुने बताए । 'आधिकारीक पार्टी नेकपा हो । नेकपाको नाममा भएका जति पनि कार्यालय, सम्पत्ति छन् ती सबै हाम्रो हुनेछ । कसैका प्राइभेट कम्पनी छन् भने त्यो हामी लिँदैनौं । त्यो उतै रहोस् ।'
प्रतिकृया दिनुहोस