२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

वरिष्ठ नेता पौडेलले भने, ‘ओलीसँग चुनाव लड्न तयार छु’

- विशेष खबर बिहिबार ०९, पुष २०७७ ०६:१०

वरिष्ठ नेता पौडेलले भने, ‘ओलीसँग चुनाव लड्न तयार छु’

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न आउन भनेका छन्।

योहो टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिने क्रममा: प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिनुको कारण तनहुँमा निर्वाचन हार्ने भएको भनेका थिए। साथै प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको र अब कांग्रेस महाधिवेशनबाट सभापति बन्न पनि सुझाव दिएका थिए।

नेता पौडेलले आज केन्द्रीय कार्यसमितिमा बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री ओलीलाई तनहुँमा चुनाव लड्न आउन पनि आग्रह गरेका छन्।

‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु,’ उनले भने।

आफूसँग तनहुँमा प्रतिस्पर्धा गर्न आउन पनि पौडेलले प्रधानमन्त्री ओलीलाई ‘निम्तो’ दिएका छन्। प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भएको भन्दै कांग्रेसले पुस १३ मा देशैभर आन्दोलन गर्दैछ।

प्रधानमन्त्री ओली र पौडेलबीच पछिल्लो समय सम्बन्ध राम्रो छैन। तनहुँमा पुल उद्घाटन गर्न जाँदा नेकपा कार्यकर्ताले अवरोध गरेको पौडेलले बताएका थिए।

तनहुँमा ओलीनिकट कृष्णकुमार श्रेष्ठ किसानले पौडेललाई गत चुनावमा हराएका थिए। पुल उद्घाटनमा नेकपाले अवरोध गरेपछि पौडेलले ओलीलाई आफू आस्थाका लागि जेल बसेको तर ओली व्यक्ति हत्यामा जेल बसेको आरोप लगाएका थिए।


#नेपाली काँँग्रेस #रामचन्द्र पौडेल

प्रतिकृया दिनुहोस