- विशेष खबर सोमबार ०६, पुष २०७७ ०६:४१
काठमाडौं । संसद् विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख ३ दलको बैठकले संसद् विघटन संविधानमाथिको आक्रमण भएको निस्कर्ष निकालेको छ ।
नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निस्कर्ष निकालेको हो ।
३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘भोलि तीनै दलको केन्द्रीय कमिटी बैठक छ। त्यही बैठकमा प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय हुन्छ,’ श्रेष्ठले भने,‘त्यसपछिका थप संघर्षका कार्यक्रम पनि सल्लाह गरेर सार्वजनिक गर्छौं।’
आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।
प्रतिकृया दिनुहोस