२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

माउन्टेन फ्लाइटमा यात्रुको आकर्षण, शनिबार एकैदिन आठ उडान

- विशेष खबर शनिबार ०४, पुष २०७७ ०४:४३

माउन्टेन फ्लाइटमा यात्रुको आकर्षण, शनिबार एकैदिन आठ उडान

काठमाडाैं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।

कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जनाएका छन् ।

बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरु हिमाल अवलोकन गर्न औधि रुचाएका छन् ।

नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन् । शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन् । 

यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । अघिल्लो शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन् ।

गत शनिबार बुद्धका चार र यतीका (सिमरासहित) चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । आज बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको जनाएको छ । यात्रुको उत्साहवद्र्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ ।


प्रतिकृया दिनुहोस