२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

विशेष अधिवेशन माग गर्दै नेकपा सांसद पाँच घण्टादेखि राष्ट्रपति कार्यालयमा

- विशेष खबर बुधबार ०१, पुष २०७७ ०५:५७

विशेष अधिवेशन माग गर्दै नेकपा सांसद पाँच घण्टादेखि राष्ट्रपति कार्यालयमा

काठमाडौं । संसद्‌को विशेष अधिवेशन मागको निवेदन बोकेर राष्ट्रपति कार्यालय पुगेका नेकपा सांसद पाँच घण्टादेखि त्यही रोकिएका छन् ।

सांसद भीम रावल र पम्फा भुसाल अधिवेशन मागको निवेदन लिएर पौने एक बजे राष्ट्रपति कार्यालय पुगेका थिए । उनीहरु ८३ जनाको हस्ताक्षरसहितको निवेदन लिएर शितल निवास पुगेका थिए । 

तर, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले आफूहरुले ल्याएको निवेदन बुझेपछि दर्ता नम्बर ल्याइदिने भनेर पाँच घण्टादेखि सचिव गायब भएको रावलले बताए ।

'हामी १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय आएका थियौं । यो अध्यादेश जस्तो संवेदनशील विषयमा प्रतिनिधिसभामा छलफल गर्न आवश्यक भएको हुनाले अविलम्ब बैठक बोलाउनु पर्‍यो भनेर ८३ जनाको हस्ताक्षरसहित माननीय पम्फा भुसाल यहाँ आएका छौं ।

सचिवजीले हाम्रो निवेदन बुझ्नु भयो र म सम्माननीयज्यूलाई जानकारी गराएर दर्ता नम्बर लिइदिन्छु भन्नु भएको हो । अहिले उहाँको फोन पनि अफ छ । आउनु भएको पनि छैन । हामी यहीं निवेदनको दर्ता नम्बर कुरेर बसेका छौं,’ रावलले भने ।

रावलले राष्ट्रपति कार्यालयबाट दर्ता नम्बर लिएरमात्रै फर्किने बताए । 'उहाँहरुले दर्ता नम्बर दिनुपर्छ । हाम्रो संवैधानिक अधिकार हो । दर्ता नम्बर खै ? छिटो ल्याउनुस् भनेर हामी यहीं बसेका छौं । दर्ता नम्बर नलिइकन हामी नजाने भनेर बसेका छौं,’ रावलले भने ।


#राष्ट्रपति कार्यालय

प्रतिकृया दिनुहोस