२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

नेकपा बैठक तीन दिनका लागि स्थगित

आइतबार २८, मङि्सर २०७७ ०२:५९

नेकपा बैठक तीन दिनका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेकपाको आइतबार बसेको स्थायी कमिटी बैठक शोक–प्रस्ताव पारित गरेर पुस १ सम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पूर्वराजदूत समेत रहेका लामाको कोरोना संक्रमणका कारण विहीवार निधन भएको थियो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।

यसअघि मंसिर २१ मा बसेको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।

दाहालले लामा र सम्बन्धित हाइड्रोको व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र प्रवक्ताले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि श्रेष्ठले बताए । लामाको निधनपछि उनको परिवारले सेयर विवादसम्बन्धी अडियो भिडियो सार्वजनिक गरेको थियो । त्यसमा प्रवक्ता श्रेष्ठ मध्यस्थकर्ताको भूमिकामा देखिएका थिए ।

शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेन । आजको बैठकमा दुई अध्यक्षले आफ्ना प्रस्तावमाथि व्याख्या गर्ने र त्यसपछि सचिवालयका सदस्यहरुले धारणा राख्ने कार्यसूची थियो । यसअघिकै बैठकमा दुई अध्यक्षका प्रस्ताव र पत्र अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई वितरण गरिएको थियो । 


प्रतिकृया दिनुहोस