२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

अलगिएकाे झण्डै दुई वर्षपछि फेरि जोडियो ‘विवेकशील साझा’

- विशेष खबर बुधबार २४, मङि्सर २०७७ ०५:४३

अलगिएकाे झण्डै दुई वर्षपछि फेरि जोडियो ‘विवेकशील साझा’
तस्बिर: मिलन पाण्डेको फेसबुक बाट।

काठमाडौं । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि जोडिएको छ ।

अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।

यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए । दुवै पार्टी गएको वैशाखदेखि नै एकताको प्रक्रियामा थिए । 

दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प पार्टी बनाउने दाबी गरेका छन् ।

 


#विवेकशील साझा

प्रतिकृया दिनुहोस