२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

बरिष्ठ नेता खनाल र नेपालले भनेः पाण्डेविरूद्धको नाराबाजी सुनियोजित र निन्दनीय

शनिबार ०६, मङि्सर २०७७ ०७:२५

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले  शनिबार चितवनमा पूर्वअर्थमन्त्री एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी भएको कार्यक्रममा सुनियोजित रूपमा नाराबाजी र अभद्र व्यवहार भएको बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताद्वयले शनिबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका हुन्। 

'गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ,' बरिष्ठ नेता खनालले भनेका छन्,'कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।'

खनालले कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत  गराएका छन्। 

'पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता/ कार्यकर्तालाई विनम्र अनुरोध छ,' खनालले भनेका छन्। 

अर्का बरिष्ठ नेता नेपालले पनि पाण्डेविरूद्धको नाराबाजी सुनियोजित भएको बताएका छन्। 

'सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानबिन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउॅछु,' नेपालले भनेका छन्। 

नेता पाण्डेविरुद्ध पार्टी एकताविरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका थिए। 


#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस