२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

सूर्नया गाउँपालिकाकाे केन्द्र विवादले झडप, अध्यक्ष बिष्टसहित १४ जना घाइते

बुधबार २८, असोज २०७७ ११:१७

सूर्नया गाउँपालिकाकाे केन्द्र विवादले झडप, अध्यक्ष बिष्टसहित १४ जना घाइते
झडपमा घाइते भएका सूर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्ट । तस्बिर : अध्यक्ष बिष्टकाे फेसबुक

बैतडी । सूर्नया गाउँपालिका केन्द्रको विषयलाई लिएर बुधबार झडप हुँदा गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका छन् ।

गाउँ सभाले ताेकेकाे केन्द्र मान्य नभएकाे भन्दै  संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि ढुंगा प्रहार भएको हाे । उनकाे टाउकोमा चोट लागेकाे प्रहरीले जनाएको छ ।

गाउँपालिकाकाे केन्द्र वडा नं. ५ कै पवितामा सार्न खोजेको भन्दै अहिले कार्यालय रहेकाे क्षेत्रका बासिन्दाले मंगलबार पालिकामा तालाबन्दी गरेका थिए । केन्द्रका बिषयमा बुधबार भएकाे छलफल निष्कर्षमा नपुगेपछि ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । 

झडपमा ४ जना प्रहरी पनि घाइते भएका छन् । केन्द्र सार्न नपाइने माग गर्दै संघर्षरत पक्षका ६ जना र अन्य तीन जना पनि घाइते भएकाे स्थानीयले बताएका छन् । 

स्थिति तनाबग्रस्त बनेपछि प्रहरी निरीक्षक धनदेव साउँदको नेतृत्वमा टाेली पठाएकाे छ । घटनास्थलमा सशस्त्र प्रहरी टाेली समेत गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

गत वर्ष नै पालिकाको केन्द्र पवितामा राख्ने कार्यपालिकाले निर्णय गरेको थियो । त्यसकाे बिराेधमा स्थानीयले सर्बाेच्चमा दिएकाे मुद्दा विचाराधीन छ । 


प्रतिकृया दिनुहोस