२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

मन्त्रिपरिषद्‍ हेरफेर : पौडेल अर्थमन्त्री, पोखरेल रक्षाबाट हटाइयाे

बुधबार २८, असोज २०७७ ०६:५७

मन्त्रिपरिषद्‍ हेरफेर : पौडेल अर्थमन्त्री, पोखरेल रक्षाबाट हटाइयाे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।

नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

यस्तै सहरी विकासको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । यो मन्त्रालय भौतिक पर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्वाङले सम्हालेका थिए ।


प्रतिकृया दिनुहोस