२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

७२ घन्टा भित्र वार्ता टोली गठन गर्न सरकारलाई चिकित्सक संघकाे अल्टिमेटम

आइतबार १८, असोज २०७७ ०६:१९

७२ घन्टा भित्र वार्ता टोली गठन गर्न सरकारलाई चिकित्सक संघकाे अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा वार्ता टोली गठन गर्न सरकारलाई ७२ घन्टाको अल्टिमेटम दिएको छ । 

महासचिव डा. बद्री रिजालले आइतबार विज्ञप्ति जारी गरेर डा. केसीको अनशन २१ दिन पुगिसक्दा सरकारले बेवास्ता गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता टोली गठनको माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ,'संघले आयोजना गरेका विभिन्‍न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्याण्डेटअनुरुप डा. केसीको जीवन रक्षाका निम्ती नेपाल सरकारले ७२ घन्टाभित्र वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अविलम्ब सत्याग्रहको अन्त गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,।'

आफूले दिएको समयसीमाभित्र वार्ता टोली गठन नगरिए जुनसुकै कठोर कदम चाल्ने पनि संघले चेतावनी दिएको छ । '७२ घन्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।'

चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका प्रा डा. गोविन्द केसी चिकित्सा शिक्षामा सुधार र सर्वसाधारणको पहुँच हुनुपर्ने लगायत माग राखी १९ औं आमरण अनशनअन्तर्गत त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् । उनको स्वास्थ्य अवस्था पछिल्ला दिनमा बिग्रँदै गएको छ ।

डा.केसीले यसपटक चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका-६ को बाबिरा मष्ट मन्दिरबाट १९औं अनशन सुरु गरेका हुन् । 

हालसम्म उनको माग सम्बोधन गर्न वा उनीसँग वार्ता गर्न सरकारी पक्षले कुनै पनि चासो देखाएको छैन । 


#डा.गोविन्द केसी

प्रतिकृया दिनुहोस