२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

बुटवलका केही स्थानमा निषेधाज्ञा जारी

आइतबार १८, असोज २०७७ ०७:२७

बुटवलका केही स्थानमा निषेधाज्ञा जारी

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

रुपन्देहीका तीन दर्जन बढी संघ-संगठनको सञ्जालले आइतबार बिहान बुटवलमा विरोध र्‍याली निकाल्ने निर्णय गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी कायम गर्न दबाब दिन आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासनले पाँच जना भन्दा बढी जम्मा हुन नपाइने गरी निषेधाज्ञा लगाएको हो। 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। 

प्रदेशसभा सचिवालय रहेको क्षेत्र दक्षिणमा इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ। 

त्यस्तै, मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पाँच जनाभन्दा धेरै भेला हुन पाइने छैन।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला जम्मा हुन पाइने छैन।

हेर्नुहाेस निषेधाज्ञाः


प्रतिकृया दिनुहोस