२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद

बिहिबार १५, असोज २०७७ ०७:१०

पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद
फाइल तस्बिर ।

काठमाडौं । पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद बल्झेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा महत्वपूर्ण नियुक्ति गरेपछि नेकपामा केही दिन अगाडिमात्रै शान्त भएको विवाद फेरि उठेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री यूवराज खतिवडा र बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा नेकपामा असन्तुष्टि देखिएको छ । बैठकले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।

पार्टी निर्णयविपरित सरकारले महत्वपूर्ण नियुक्ति गरेको र यसबारे अब पार्टी सचिवालयमा प्रवेश पाउने नेताहरुले बताएका छन् । स्थायी कमिटी र सचिवालयको निर्णयविपरीत प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेकोमा अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका धेरैजसो सदस्य असन्तुष्ट बनेका छन् ।

राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुर्नगठनलगायत विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल निरन्तर संवादमा थिए । तर, प्रधानमन्त्री ओलीले दाहालसँग समेत परामर्श नगरी भटाभट नियुक्ति गरेपछि उनीलगायत सचिवालयका बहुमत सदस्य असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो ।

दाहालले यसबारे सचिवालयका अन्य सदस्यसँगसमेत संवाद गरिसकेका छन् । ‘पछिल्ला नियुक्तिलाई लिएर अध्यक्ष दाहालसँग छलफल भयो । यो विषयमा आवश्यक छलफल सचिवालयमा गर्ने भन्ने तय भएको छ ।’ सचिवालयका एक सदस्यले भने । ती सदस्यका अनुसार प्रधानमन्त्रीले पार्टी निर्णयलाई चुनौती दिएपछि असन्तुष्ट नेताहरुले सचिवालय बैठकमा बोलाउन दाहाललाई दबाब दिएका छन् ।


#नेकपा

प्रतिकृया दिनुहोस