२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सम्झनामा सर्वोच्च कमाण्डर गणेशमान सिंह

- विशेष खबर शुक्रबार ०२, असोज २०७७ १०:२७

सम्झनामा सर्वोच्च कमाण्डर गणेशमान सिंह

काठमाडाैं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । 

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरे।
 
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाए । 

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासंग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सर्घष गरे। देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहेका थिए । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे गणेशमान । 

विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री  गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर सिंहदरबार र  सुन्दरीजल गृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे ।

विसं २०३३ मा बिपीसंगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय भुमिकामा रहे ।

तत्कालीन पञ्चायती सरकारले बिपीसंगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

 बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व समेत गरेका थिए । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । 

जनआन्दोलनका लागि कम्युनिष्टसंग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका थिए ।


#गणेशमान सिंह

प्रतिकृया दिनुहोस