२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

लक्षण देखिएकाकाे मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउँदै स्वास्थ्य मन्त्रालय

- विशेष खबर मङ्गलबार ३०, भदौ २०७७ ०२:३८

लक्षण देखिएकाकाे मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउँदै स्वास्थ्य मन्त्रालय
फाइल तस्बिर ।

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाइने भएको छ ।

इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरु उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले निर्णय भएको तर मन्त्रिपरिषद्‍बाट पारित भइनसकेको जनाए । उनले भने, 'क्याबिनेटबाट निर्णय भएपछि मात्र टुंगो लाग्छ र कोभिड परीक्षणमा नयाँ मापदण्ड परिवर्तन हुनेछ ।'

उनले अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयले जोड दिने जनाए।

अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ।

मन्त्रालयका तथ्यांकअनुसार हालसम्म साढे आठ लाख बढी मानिसको पिसिआर परीक्षण भएको छ।


#स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस