२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

एसिड आक्रमण गर्नेलाई कारबाही गर्न तत्काल नयाँ कानुन बनाउन प्रधानमन्त्रीकाे निर्देशन

- विशेष खबर बिहिबार २५, भदौ २०७७ ०३:२६

एसिड आक्रमण गर्नेलाई कारबाही गर्न तत्काल नयाँ कानुन बनाउन प्रधानमन्त्रीकाे निर्देशन
फाइल तस्बिर ।

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताए ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी बिहीबारको विशेष कार्यक्रममा प्रम ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले बेहोर्ने घोषणा गरेका हुन् ।

अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्ने व्यवस्था सरकारले मिलाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

एसिड पीडितलाई नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन पनि दिएका छन् ।

हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।


प्रतिकृया दिनुहोस