२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपाका नेता कार्यकर्ताले एक-अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने

बिहिबार २५, भदौ २०७७ १२:२४

नेकपाका नेता कार्यकर्ताले एक-अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने
फाइल तस्बिर ।

काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता कार्यकर्तालाई एक-अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने भएको छ।

नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ ।

बिहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।

प्रस्तावमा भनिएको छ,'पार्टीको नीति नेता र कार्यकर्ताविरूद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइसाथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ।'

नेतृत्व तहबाट समेत गम्भीर गल्ती कमजोरीहरू भएको भन्दै प्रतिवेदनमा पार्टीभित्र उत्पन्न अन्तरविरोध ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उल्लंघन हुँदै गएको र आन्तरिक एकता कमजोर भएको उल्लेख छ।

'पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न विधि तथा पद्धति स्थापित गर्न र नेता तथा कार्यकर्ता तथा जनप्रतिनिधिको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालई परिमार्जन गरी कडाइका साथ लागू गर्ने निर्णय गर्छ,' प्रस्तावमा भनिएको छ,'सबैलाई, विशेषत: जिम्मेवार कमरेडहरूलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ।'

पार्टीका नेताका नाममा सञ्चालित प्रतिष्ठान तथा संघ संस्थाहरू गुटबन्दीको माध्यम बनेको भन्दै यसको सञ्चालन विधि निश्चित गर्नसमेत प्रस्ताव गरिएको छ।


#नेकपा

प्रतिकृया दिनुहोस