२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

संक्रमण फैलिएको क्षेत्रमा 'एक घर एक परीक्षण' गर्न कांग्रेसकाे ध्यानाकर्षण

- विशेष खबर सोमबार २२, भदौ २०७७ ०७:१०

संक्रमण फैलिएको  क्षेत्रमा 'एक घर एक परीक्षण' गर्न कांग्रेसकाे ध्यानाकर्षण

काठमाडाैं । नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी प्रति गम्भीर रुपले खेलवाड भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र संक्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटकपटक दोहोरिएको प्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ ।

यस्तो स्थिति दोहोरिन नदिन सरकारको  ध्यानाकर्षण गराउदै कांग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य संकलन गर्ने निर्णय गरेको छ ।
 
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिबाट यही भदौ २० र २१ गते बसेको बैठकले   कोरोना महामारीका कारण बढ्दो मृत्युु र फैलँदो सङ्क्रमण दृष्टिगत गरेर उच्चस्तरीय सुरक्षा सतर्कताका लागि सबैमा अपिल गर्दै विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

विभागीय प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अध्यक्षतामा भएको बैठकले तीनै तहका सरकारलाई नवीन र ऐक्यबद्ध रणनीतिका साथ कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपिल गर्दै समुदायस्तरमा संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा 'एक घर एक परीक्षण' गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आइसोलेशन विस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकारसमक्ष माग गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

कोरोना संक्रमणका विरूद्ध फ्रन्टलाइनमा रहेर काम गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ ।

उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीको मनोबललाई असर पुग्ने गरी कही पनि कुनै ढङ्गको गतिविधि हुन नदिन सबैमा बैठकले अपिल गरेको उनले बताए ।
 
  


प्रतिकृया दिनुहोस