२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

चल्न छाडे सिक्का

बिहिबार ०१, फागुन २०७६ १२:४३

चल्न छाडे सिक्का

महोत्तरी,  जिल्लाको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका छन् ।

जिल्लाको सयौँ गाउँ तथा दर्जन बढी शहरको सानादेखि ठूला पसलेले अहिले खुद्रा (सिक्का) पैसाको कारोवार नगर्ने गरेको सर्वसाधारणको गुनासो आइरहेको छ ।

अहिले पसल तथा हाटबजारमा मालसामान तथा विभिन्न सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसाजस्तै रु एक, रु दुई र रु पाँचका सिक्का पैसा लिन छाडेका छन् ।

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशङ्कर यादवले हाटबजारमा चले, नचलेको थाहा नभएको तर बैंकले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताउनुभयो ।

उहाँले आम जनताले सिक्का पैसा एक÷दुई सय र पाँच सयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताउनुभयो । बैंकमा खुद्रा पैसा लिने गरेको जानकारी नभएका अभिभावक आफूसँग भएको हजारौँ खुद्रा पैसा खेर गइरहेको बताउँछन् । सिक्का पैसा हाटबजार तथा पसलमा नचल्दा बालबालिका पनि अभिभावकसँग लिन मान्दैनन् भने जिल्लाको विभिन्न हाटबजार तथा घर–डेरासम्म भिक्षा माग्न आउने भिखारीसमेतले सिक्का पैसा नलिने गरेको जिल्लावासी सुनाउँछन् ।

सिक्का पैसा नचल्दा हुने गरेको हैरानीले जिल्लाका आम उपभोक्ताले सिक्का पैसाको व्यवस्थापन वा चलनचल्तीका लागि सरकारले ठोस कदम चालिदिन मागसमेत गरेका छन् ।


#coin

प्रतिकृया दिनुहोस