२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मल नल्याउने दुई सप्लायर्स कारवाहीमा, धराैटी जफत

आइतबार २१, भदौ २०७७ ०९:३८

मल नल्याउने दुई सप्लायर्स कारवाहीमा, धराैटी जफत

काठमाडाैं । समयमा रसायनिक मल खरिद नगर्ने दुई सप्लायर्सलाई कृषि सामग्री कम्पनीले कारवाही गरेको छ । कम्पनीले ललितपुरमा रहेको शैलुङ इन्टरप्राइजेज प्रालि र काठमाडौँको होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द र धरौटी जफत गरेको हो ।

दुवै कम्पनीलाई भदौ २० गतेभित्र सम्झौता गरिए बमोजिम रसायनिक मल खरिद गर्न दिईएको अनुमतिअनुसार मल नल्याएपछि आज कारवाही गरिएको हो । कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी कम्पनीले आह्वान गरेको अन्तरराष्ट्रिय बोलपत्रमा नेपाली सप्लायर्सले कम रकम बोलकबोल गरेपछि २५/२५ हजार मेट्रिक टन मल खरिद गर्न सम्झौता गरिएको बताए। उनका अनुसार सम्झौता बमोजिम मल नल्याएपछि आइतबार कारावाही गरिएको हो ।

शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

दुवै सप्लायर्ससँग विसं २०७७ वैशाख १२ र १५ गते सम्झौता भएकोमा सोही महिनाको ३० गते नेपाल इनभेष्टमेन्ट बैंक र सिद्धार्थ बैंक लिमिटेडमा प्रतितपत्र खोलिएको उनले जानकारी दिए ।

नियमअनुसार प्रतितपत्र खोेलेको ४२ दिनमा पहिलो सिपमेन्ट र ७२ दिन भित्रमा दोस्रो सिपमेन्ट गरी सम्पूर्ण सामान साउन ७ गतेभित्र सिपमेन्ट भै सक्नुपर्ने प्रावधान रहेकोमा दुवै सप्लायर्सले कुनै पनि काम गर्न नसकेपछि २५ दिनको म्याद थप गरिएको थियो । थप गरेको समयमा समेत सामन सिपमेन्ट भएको प्रमाण नहुँदा सप्लायर्सलाई कालोसूचिमा राख्दै कारवाही गरिएको हो ।

सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजि सप्लायससँग क्षतिपूर्ति दावी गरिने छ भने दुवै कम्पनीलाई कालोसूचीमा  राख्दै आवश्यक प्रक्रिया अगाडी बढाईने उनले जानकारी दिए। आइतबार बसेको कृषि सामग्री कम्पनी सञ्चालक समितिले उक्त निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्लायर्सलाई कारवाहीको अधिकार दिएको जनाइएको छ ।


#मल

प्रतिकृया दिनुहोस