२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

देउवाले तोके काँग्रेसका १३ केन्द्रीय विभाग प्रमुख, पाैडेल पक्षको अस्वीकार

आइतबार १८, फागुन २०७६ १०:४३

देउवाले तोके काँग्रेसका १३ केन्द्रीय विभाग प्रमुख, पाैडेल पक्षको अस्वीकार

काठमाडाैं–  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई संगठन विभागको प्रमुख, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई  तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गरेका हुन्।
 
यसैगरी केन्द्रीय सदस्यहरु शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ)लाई मनोनयन गरेका छन् ।

पौडेल पक्षबाट अस्वीकार

सभापति देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रूपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका हुन् । विधानविपरीत विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको आरोप संस्थापनइतरका नेताहरूले लगाएका छन् । देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपत्ति छ ।

विभाग गठन हुनासाथ वीरगन्जको कार्यक्रममा रहेका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजालसहितका नेताहरूबीच त्यहीं आकस्मिक भेला भएको थियो । भेलाले सभापति देउवाले गरेको विभाग गठनलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

‘विधानमा महाधिवेशन भएको ६ महिनाभित्रै विभाग गठन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा तोकिएभन्दा दोब्बर विभाग गठन गर्नु विधानविपरीत मात्रै होइन, चुनावको आचारसंहिताविपरीत र महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुष्प्रयास हुनाले विभाग गठन तथा कुनै पनि नयाँ नियुक्तिसँग हामी सहमत छैनौं,’ पौडेल पक्षको भेलाले पारित गरेको निर्णयमा भनिएको छ ।

पौडेल पक्षले शनिबारै भएको आमन्त्रित सदस्य मनोनयनको निर्णयलाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ । कार्यकालभर गठन हुन नसकेको विभाग अहिले आएर गठन गर्नुका पछाडि महाधिवेशनलाई प्रभावित पार्ने योजना रहेको वरिष्ठ नेता पौडेलले बताए । ‘वीरगन्ज भेलाबाटै हामीले विभाग गठनलाई अस्वीकार गर्ने निर्णय गरेका छौं,’ उनले भने ।


#काँग्रेस

प्रतिकृया दिनुहोस