२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

तत्कालिन प्रधानमन्त्री नेपाल र डा.भट्टराई बिरूद्द सर्वोच्चमा रिट

बुधबार २९, माघ २०७६ ०५:०५

तत्कालिन प्रधानमन्त्री नेपाल र डा.भट्टराई बिरूद्द सर्वोच्चमा रिट

काठमाडौं, बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।

ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय भने नीतिगत भन्दै अख्तियारले आफ्नो क्षेत्राधिकारमा नपर्ने ब्याख्या गरेको थियो ।

वरिष्ठ अधिवक्ता न्यौपानेले मन्त्रिपरिषदको सबै निर्णय नीतिगत नहुने भन्दै यसमा तत्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित ती मन्त्रिपरिषदका सदस्यले उन्मुक्ति पाउन नहुने भनी रिट दायर गरेका हुन् ।

उनले पूरक निवेदन दर्ता गरी प्रधानमन्त्री र मन्त्रीहरुलाई समेत भ्रष्टाचार मुद्दा चलाउन माग गरेका छन् ।

त्यस्तै वरिष्ठ अधिवक्ता न्यौपानेले जग्गा फिर्ता गरेको नाउँमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिनु पनि गलत भएको रिटमा उल्लेख गरेका छन् ।

उनले आपराधिक वस्तु फिर्ता गरेको नाउँमा अपराधबाट मुक्त नहुने भन्दै उनीहरुविरुद्ध पनि मुद्दा चलाउन माग गरेका छन् ।


प्रतिकृया दिनुहोस