२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

नेकपाका अध्यक्षद्वयकाे छलफल सकियाे,शुक्रबार पुनः बस्ने सहमति

बिहिबार २९, साउन २०७७ ०४:१४

नेकपाका अध्यक्षद्वयकाे छलफल सकियाे,शुक्रबार पुनः बस्ने सहमति
फाइल तस्बिर ।

काठमाडाैं ।  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेका छन् ।

दुई अध्यक्षबीचको बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार घण्टा लामो संवाद सकारात्मक भएको बताइएको छ ।

अध्यक्षद्वयले नौ दिनपछि भेटवार्ता गरेका हुन् ।

दाहालको सचिवालयले भेटघाट सकारात्मक भएको र शुक्रबार पुनः बस्ने सहमति भएको जानकारी दिएको छ । महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ ।

दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको थियो ।

महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा दुई अध्यक्षबीच संवाद र सहमति जुटाउने कोशिसमा लागेका थिए । बिहीबारको ओली र दाहाल संवादमा केही समय पौडेल, पोखरेल र शर्मा पनि बसेका थिए ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

 


#नेकपा

प्रतिकृया दिनुहोस