२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

५ दिनभित्रै नेकपामा नयाँ सिनारियो देखिन्छ : प्रधानमन्‍त्री ओली

बिहिबार २९, साउन २०७७ १०:२७

५ दिनभित्रै नेकपामा नयाँ सिनारियो देखिन्छ : प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाभित्र विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्।
पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको उनकाे भनाइ छ।

बुधबारबाट एपीवान एचडी टेलिभिजनमा सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरेका छन् ।

‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो। भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’

प्रधानमन्त्री ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको उल्लेख गर्दै तत्कालीन दुई पार्टीका अध्यक्ष अबकाे महाधिवेशनसम्म नै अध्यक्ष रहने गरी व्यवस्था गरिएको बताएका छ्न् । उनले अहिलेकाे सरकार ५ वर्षसम्म निरन्तर रहने पनि बताए।

पार्टीभित्र देखा परेका विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबार काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग सुझावका लागि भन्दै छलफल गरेका थिए।

दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भने भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन्।


#नेकपा

प्रतिकृया दिनुहोस