२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतमा कोरोना संक्रमित २१ लाख ५३ हजार, ब्राजिलमा एक लाखको मृत्यु

आइतबार २५, साउन २०७७ १२:१५

भारतमा कोरोना संक्रमित २१ लाख ५३ हजार, ब्राजिलमा एक लाखको मृत्यु

एजेन्सी । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८६१ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु भएका व्यक्तिको कूल संख्या ४३ हजार ३७९ पुगेको छ । साथै कूल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ । 

स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १४ लाख ८० हजार ८८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ का दिन ७ लाख १९ हजार ३६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।

ब्राजिलमा एक लाखको मृत्यु
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । 

करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस