२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

उपत्यकामा कहाँ कति काेराेना संक्रमित ?

शनिबार २४, साउन २०७७ ०७:२०

उपत्यकामा कहाँ कति काेराेना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ ।

पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । प्रदेश २ बाट आएकाको संख्या बढी छ । भारतबाट आएका पाँच जना छन् । कतिपय व्यक्तिले काठमाडौं उपत्यकाको ठेगाना खुलाएका हुँदैनन् । यो विश्लेषणमा उनीहरूलाई समेटिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । ६ सय ४६ जना सक्रिय संक्रमित हुन् । मन्त्रालयले काठमाडौंसहित ६ जिल्लालाई जोखिममा राखेको छ । साउन १ देखि १२ सम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए ।

माहाशाखाका अनुसार साउन ९ देखि २१ सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा करिब ४ सय ८५ जना कोरोना संक्रमित देखिएका छन् । यसमा काठमाडौं महानगरमा मात्र करिब ६५ प्रतिशत अर्थात् ३ सय १५ जना संक्रमित भेटिएका छन् ।

उपत्यकामा दुई सातायता १ सय ३६ स्थानमा संक्रमित भेटिएका हुन् । २४ स्थानमा संक्रमितको संख्या ५ वा ५ भन्दा बढी छ । सबैभन्दा बढी ७५ जना संक्रमित नेपाल प्रहरीको मुख्यालयमा भेटिएको छ । कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा १०/१० जना संक्रमित पाइएको छ । यी क्षेत्रका संक्रमितमध्ये अधिकांश लकडाउनपछि भारत र तराईबाट फर्केकाहरू रहेको माहाशाखाले जनाएको छ । कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन् ।

माहाशाखाका अनुसार ललितपुरको सानेपामा ९ जना संक्रमित फेला परेका छन् । वनस्थली, टेकु र टंगाल क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७/७ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा व्यापारिक केन्द्रका रूपमा चिनिने असनमा मात्रै ६ संक्रमित फेला परेका छन् । बिजुली बजार क्षेत्रमा पनि ६ संक्रमित पाइएको छ । वीरगन्जको एक बैंकका म्यानेजर काठमाडौं फर्केपछि बिजुली बजारमा पहिलो संक्रमित भेटिएको थियो । त्यसपछि त्यहाँ अरूमा संक्रमण पुष्टि भएको हो ।

बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला तथा ताल्छीखेलमा ५/५ जना संक्रमित फेला परेका छन् । घट्टेकुलोमा भेटिएका संक्रमित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीको परिवारका हुन् । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा ४/४ जना संक्रमित पाइएका छन् ।

अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा ३/३ जनामा संक्रमण देखिएको छ । बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका अन्य ७० स्थानमा पनि पछिल्लो दुई सातामा संक्रमित भेटिएका छन् । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा छ । 


#काेराेना

प्रतिकृया दिनुहोस