शुक्रबार २३, साउन २०७७ ०३:५३
काठमाडाैं । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने,'शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको छ,' ।
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । 'अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भयो । यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ,' दाहालले भने ।
बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।
सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।
उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि उपत्यकाका प्रजिअहरुले सहमति गरेका छन् ।
यसैगरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो।
महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए।
प्रतिकृया दिनुहोस