बुधबार २१, साउन २०७७ १२:४०
सप्तरी । सप्तरीमा काेराेना भाइरस संक्रमितसँग मिल्दाेजुल्दाे लक्षणबाट मंगलबार राति तीन जनाकाे मृत्यु भएकाे छ ।
रूपनी गाउँपालिका, डाकनेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका तीन जना पुरूषकाे उपचारका क्रममा मृत्यु भएकाे हाे। उनीहरूकाे स्वाब परीक्षण भइरहेकाले दाहसंस्कार गरिएकाे छैन ।
डेढ महिनाअघि मलेसियाबाट आई होम क्वारेन्टाइनमा बसेका रुपनी गाउँपालिका–५ गढियाका ४५ वर्षीय पुरूषकाे मंगलबार राति मृत्यु भएको हाे । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शव अन्तिम संस्कार गर्न रोक लगाएको छ ।
होम क्वारेन्टाइनमा बसे पनि ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । पीसीआर परीक्षणका लागि बोलाउँदा परिवारले उनी राजविराज गएको र उतै गराउने भन्दै पन्छिने गरेको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए ।
केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको अध्यक्ष यादवले जानकारी दिए ।
परिवारले बुधबार बिहान शव गाउँ ल्याएर अन्तिम संस्कार गर्न लाग्दा गाउँपालिकाले रोकेको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका दुई जनाको पनि स्वाब संकलन गरिँदै छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको हो । शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकी स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस