बुधबार २१, साउन २०७७ ०८:१२
टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखेकाे पाइएकाे छ ।
स्थानीय पाष्टर दीपक चौधरीको घरभित्र गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको रहस्य खुलेको हो ।
बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । मुटुका बिरामी रहेका शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा बिरामी भएपछि उपचारका लागि कोहलपुर गएका थिए ।
उपचारपछि घर फर्केका मोतीरामको शुक्रबार मृत्यु भएको थियो । चाैधरीले उपचार गरेर निकाे बनाइदिने विश्वासले यहाँ ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले बताए ।
पाष्टर चाैधरीले सात दिनपछि बाबु उठ्ने भनेकाे विश्वासले शव यसरी राखेकाे मृतकका छाेरा इश्वर डगाैराले बताए । कुहिएर गन्हाउन लागेकाे शवलाइ पाष्टर चौधरीले पसिना आएर गन्ध आएको भन्दै उठ्ने विश्वासमा थिए । चाैधरी मङ्गलबार बिहान गन्हाएर खाना खान नसकी छिमेकीको घरमा गएका थिए ।
पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए ।
मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
प्रतिकृया दिनुहोस