२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

सिन्धुपाल्चोकमा कोरोनाको आशंका

बुधबार २९, माघ २०७६ ०९:३१

सिन्धुपाल्चोकमा  कोरोनाको आशंका

काठमाडौं,  सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।

संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन ।

गुम्बाबस्तीका करिब १०० जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले अनलाइनखबरलाई जानकारी दिए ।

बिकका अनुसार, स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन । संक्रमित सबै बिरामी घरमै रहेको उनले जानकारी दिए ।

कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले पहिचानमा सघाइदिन आग्रह गरिएको छ ।

‘२३ गतेदेखि यो बस्तीमा फाट्टफुट्ट यस्ता बिरामी भेटिएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीसहितको टोली जाँदा उनीहरूले औषधिले निको नभएको बताए । त्यसपछि हामीले पहिचान गरिदिनुप¥यो भनेर मन्त्रालय, जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा पत्र लेखेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत बिकले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ भने सिन्धुपाल्चोकमा कोरोना भाइरसका संक्रमितमा जस्तो लक्षणका बिरामी भेटिएको हल्ला सुने पनि औपचारिक जानकारी भने नपाएको बताउँछन् । ‘कोरोना भाइरसका संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटियो भन्ने सुनेको छ । तर यसबारे औपचारिक जानकारी आएको भने मलाई थाहा छैन,’ प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग भने ।

सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।

चीनको वहानमा देखापरेको कोरोना भाइरस अहिले चीनसहित विश्वका २ दर्जन बढी मुलुकमा देखापरेको छ । यसबाट चीनमा मात्रै करिब १ हजार ज्यान गइसकेको छ भने ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।


#Corana

प्रतिकृया दिनुहोस