शुक्रबार १६, साउन २०७७ ०८:३८
बारा । जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ ।’
विराटनगर । विराटनगर महानगरपालिकामा शुक्रबार राति १२ बजेबाट लागू हुने गरी दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुलाई आवश्यकता अनुसार लकडाउन गर्ने निर्णय शुक्रबार गरेपछि महानगरले घोषणा गरेको हो ।
महानगरकी उपप्रमुख इन्दिरा कार्कीले समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेकाले नियन्त्रणका लागि प्रदेश सरकारको समन्वयमा दुई हप्ताको लागि लकडाउन घोषण गरिएको बताइन् ।
‘कडाईका साथ लकडाउन पालना गराउने र सीमा क्षेत्रमा लुकिछिपी ओहोर दोहोर गर्नेलाई पूर्ण रुपमा निषेध गर्न स्थानीय प्रशासनसँग समन्वय गरिएको छ,’ उनले भनिन्, ‘लकडाउन अवधिमा पीसीआर परीक्षणको दायरा बढाएर कोरोना नियन्त्रण गर्ने नीति महानगरले लिएको छ ।’ संक्रमित बढेसँगै महानगरमा क्वारैन्टाइनको संख्यासमेत थप्ने निर्णय भएको उनले बताइन् ।
प्रतिकृया दिनुहोस