मङ्गलबार १३, साउन २०७७ ०८:२१
जाजरकाेट । जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिकाका एकै घरका चार जनाको मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।
गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए ।
कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालले जानकारी दिएकाे छ । चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार मृत्यु भएको थियो ।
विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो ।
बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस