२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लागू

शुक्रबार ०९, साउन २०७७ ०८:४४

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लागू

वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले  शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बसेको जिल्लाका राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, वीरगन्ज महानगरपालिका, स्वास्थ्य कार्यालय, नारायणी अस्पताल, वीरगन्ज उद्योग वाणिज्य संघलगायत विभिन्न निकायका प्रतिनिधिको उपस्थितिमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

साउनयता पर्सामा ५ जना भारतीय सहित ८३ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये वीरगन्जका दुई जना कोरोना संक्रमितको मृत्युसमेत भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएको देखिएको, पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितहरु समेत देखा पर्न थालेका, संक्रमित केहीको मृत्यु समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल देखिएकोले संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन साउन १० गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिका क्षेत्रभरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

कोभिड–१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशसत्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन अनुसार नेपाली सेनाको समेत सहयोग लिने निर्णय भएको बस्नेतले जनाए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश भएको उनले बताए । शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राइपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अतिवाश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा नीजि यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको बस्नेतले बताए ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस