२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

प्राकृतिक विपद् बाट एक महिनामा १६ को मृत्यु

शुक्रबार ०९, साउन २०७७ १२:१३

प्राकृतिक विपद् बाट एक महिनामा १६ को मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद् बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाे तथ्यांकअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ लगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो हप्ताको मगंलबार दार्चुलामा विपद्का घटनामा थप दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

पछिल्लो एक महिनाको अवधिमा पहिराेबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ । यो अवधिमा पहिराका २५ घटनामा ११ को मृत्यु भएको छ । पहिराेकै कारण एक अझै बेपत्ता छन् भने आठ घाइते भएका छन् ।

घटनामा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ । पछिल्लो एक महिनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण तीन पुरुष र चार महिलासहित सातको मृत्यु भएको छ ।

मन्त्रालयकाे तथ्यांक अनुसार बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का सबैभन्दा बढी घटना दार्चुलामा भएका छन् । पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा विपद्का विभिन्न १० घटना भएका छन् । ती घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष र तीन महिला गरी पाँच घाइते भएका छन । 

बाजुरामा विपद्का आठ घटनामा एक महिला र एक पुरुष गरी दुईको मृत्यु भएको छ । पछिल्लो एक महिनामा डोटीमा आठ विपद्का घटना भएका छन् ।

बैतडीमा तीन, कञ्चनपुरमा दुई र कैलालीमा दुई विपद्का घटना भए पनि मानवीय क्षति भने भएको छैन । 


#सुदूरपश्चिम प्रदेश

प्रतिकृया दिनुहोस