२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

दक्षिण कोरियामा २० वर्ष यताकै कम आर्थिक वृद्धि

बिहिबार ०८, साउन २०७७ ०६:१५

दक्षिण कोरियामा २० वर्ष यताकै कम आर्थिक वृद्धि

एजेन्सी । दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको काेरीयाकाे केन्द्रीय बैंकले  जनाएको छ । 

कोरोनाभाइरसका कारण निर्यात घटेसंगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो । एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले खुम्चिएको छ । यसअघि एसियाली आर्थिक संकटको परिणामस्वरुप सन् १९९८ को चौथो त्रैमासिकमा करिब ३.८ प्रतिशतले कोरियाली अर्थतन्त्र खुम्चिएको थियो । साथै त्रैमासिक विवरण अनुसार यसै वर्ष पनि ३.३ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ । यस्तो अवस्था पनि विगत २० वर्षयता पहिलो पटक देखा परेको हो । 

कोरियाले बाध्यकारी लकडाउन नलगाएपनि  सामाजिक दूरी र मास्क लगाउने कार्यलाई बढावा दिनुका साथै स्वास्थ्य परीक्षणलाई व्यापक बनाएको थियो । कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरे पनि कोरियाली अर्थतन्त्रलाई विश्व परिदृश्यले असर पारेको देखिएको छ ।

कोरियाको अर्थतन्त्र मुख्यगरी व्यापार निर्भर रहेको छ । दोस्रो त्रैमासिक अवधिमा कोरियाको निर्यात व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६ प्रतिशतले घटेको छ । बैंक अफ जापानका अनुसार कोरियाबाट मोटर र कोइला एवं पेट्रोलियम उत्पादनहरुको निर्यात घटेकाले पनि अर्थतन्त्रमा असर परेको हो । 

गत मे महिनामा बैंकले गरेको प्रक्षेपणमा सन् २०२० मा कोरियाली अर्थतन्त्र ०.२ प्रतिशतले खस्कने उल्लेख थियो । अन्तर्राष्ट्रिय मुद्राकोषले गत महिना दक्षिण कोरियाको वृद्धि प्रक्षेपणलाई घटाउँदै यस वर्ष वृद्धिदर २.१ प्रतिशत रहने जनाएको थियो । विश्वका समुन्नत मुलुकको अर्थतन्त्र भने झण्डै ८ प्रतिशतले खुम्चने मुद्राकोषको अनुमान छ ।


#दक्षिण काेरिया

प्रतिकृया दिनुहोस