एजेन्सी शनिबार २६, साउन २०८१ १२:१६
ब्राजिल । ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । विमानमा सवार सब ६१ जनाकोे मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।
दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटनामा परेको हो ।
लगभग ७६ हजार जनसङ्ख्या रहेको भिन्हेडो सहर साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।
स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिन्छ ।
साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पत्रकारहरूलाई भने, 'पीडितको शव पहिचान प्रक्रिया सुरु भइसकेको छ र यो रातभरि जारी रहनेछ ।'
ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुख व्यक्त गर्दै राज्यमा तीन दिन शोकको घोषणा गरेका छन् ।
भोपासले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ ।
ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिकृया दिनुहोस