शुक्रबार ०२, साउन २०७७ ०६:१६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकालेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भिडभाड हुने विभिन्न स्थानबाट संकलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा ३ जनामा मात्र संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार ती तीन जनामध्ये दुई जना हालै विदेशबाट फर्किएका र एक जना व्यूटी पार्लर व्यवसायमा संलग्न व्यक्ति हुन् ।
‘आजको नतिजाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन भन्ने तथ्यलाई प्रष्ट पारेको छ, अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदायस्तरमा संक्रमण फैलिएको कुरालाई पुष्टि गर्न कहिँ कतै सहयोग गरेको पाइएको छैन’ गाैतमले भने ।
काठमाडौं उपत्यकामा मानिसहरुको बढी भीडभाड हुने स्थान र कार्यालयहरु बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानबाट स्वाब संकलन गरिएको थियो । प्रवक्ता गौतमले काठमाडौं लागायत विभिन्न ठूला सहरमा संक्रमणको जोखिम बढ्दै गएको र संक्रमितको संख्या घटे पनि जोखिम नघटेको बताए ।
प्रतिकृया दिनुहोस