२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

बिहिबार ०१, साउन २०७७ ११:४०

साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले साउन ४ देखि विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरेकाे छ । विभागका अनुसार साउन ४ देखि हुने भारी वर्षा तीनदेखि चार दिन रहने जनाएको छ ।

त्यस अवधिमा नेपालमा विभिन्न भागमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरेकाे हाे ।  बिभागले यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन भनेकाे छ । मुलुकको पूर्वमा अली बढी मनसुन सक्रिय हुने र सुदूरपश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ ।

आइतबारदेखि अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उक्त रेखा नेपाल प्रवेश गरेपछि मनसुनी वर्षा गराउँछ । 

मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुनेछ । जसका कारण बाढी पहिरोको जोखिम हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म  प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ । 

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ । 

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । यस्तो जोखिम क्षेत्र र नदी तटीय तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । 

आफ्नो क्षेत्रको मौसम र बाढीको अवस्थाबारे जानकार रहन तथा दैनिक मौसम र बाढीसम्बन्धी आउने मोबाइल एसएमएसमा ध्यान दिन अनुरोध गरिएको छ । बेलैमा सुरक्षित उपाए अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका विभन्नि क्षेत्रमा भीषण वर्षा भएको थियो । उक्त अवधिमा वर्षापछि आएको बाढी र पहिरोमा परेर ठूलो धनजनको क्षति भएको छ भने धेरै मानिसहरु हराइरहेका छन् । 

मुलुकमा गत असार महिनामा मात्रै बाढी पहिरोमा परेर एक सयभन्दा बढीको ज्यान गुमाएका छन् भने ४५ बढी हराइरहेका छन् । गत असार २५ देखि २८ सम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता रहन सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक सावधानी अपनाउँदा अपनाउँदै पनि ठूलो जनधनको क्षति भयो । यो बीचमा विशेषगरी पहिरोले धेरै मानिसको ज्यान लिएको छ । हराइरहेको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।


#बर्षा

प्रतिकृया दिनुहोस