- विशेष खबर शुक्रबार २१, मङि्सर २०८१ ११:२१
काठमाडौं । नेपाल प्रहरीले १ हजार २ सय २३ पदका लागि दरखास्त आह्वान गरेको छ । जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा रिक्त स्थानहरू पूर्ति गर्नका लागि खुल्ला प्रतियोगिताद्वारा भर्ना प्रक्रिया सुरु गरिएको हो ।
नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका लागि दरखास्त आव्हान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने उनले बताए ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आह्वानसम्बन्धी विस्तृत विवरणसहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
प्रतिकृया दिनुहोस