२०८१ भदौ २३ गते आइतबार | 8 September, 2024

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

- विशेष खबर मङ्गलबार ०५, असार २०८१ ०८:२८

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ ।

मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ ।

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले काठमाडौं आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ । 'मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा । काठमाडौं आइपुग्न दुईदेखि तीन दिन र काठमाडौं पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ,' मौसमविद् मानन्धरले भने ।

अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताए । 

महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन । गण्डकीको पोखरा आसपास र सुदूरपश्चिमको दार्चुलामा मात्रै हल्का वर्षा भइरहेको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ ।

बागमती प्रदेशका एक/दुई स्थानमा मात्रै हल्का वर्षा भएको छ । महाशाखाले साँझ जारी गरेको बुलेटिनमा हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारत आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 


प्रतिकृया दिनुहोस