२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

बिषु मनाउन घर फर्कंनेकाे नाकामा भीड

- रासस शुक्रबार ३०, चैत २०८० ०९:५०

बिषु मनाउन घर फर्कंनेकाे नाकामा भीड

कैलाली । बिषु पर्व अर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्केका छन् ।

सुदूरपश्चिमवासीले मनाउँदै गरेको बिषु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर फर्केको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।

हेल्प डेस्कका अनुसार उनीहरु भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्ली लगायतका विभिन्न सहरबाट फर्केका हुन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको देखिएको छ ।

भारतको सुरतमा रोजगार गर्दै आएका कैलालीको ओलानीका राम टमटाले बिषु पर्व अर्थात् नयाँ साल मनाउन घर फर्केको बताए । 'बिषु मनाउन घरपरिवार प्रतिक्षामा गरिरहेका छन् । हिउँदेबाली पनि भित्रयाउनु प¥यो । त्यही भएर घर फर्किएँ,' उनले भने ।  

खेतीपाती भित्र्याउने समय भएको र बिषु पर्व पनि आइरहेकाले आफू भारतको बैंङलोरबाट आएको डोटीको दीपायलका राम जोशीले बताए ।

यसरी छिमेकीमुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । 

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्रयाउने समयमा घर आउने यहाँको चलन छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् । 

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका ठूला सहरमा जाने गर्दछन् ।

बिना भिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने गरेको कारणले पनि नेपालीहरुको प्रमुख रोजगारीको गन्तव्य स्थान छिमेकी राष्ट्र भारत बन्न पुगेको हो । बिषु पर्व अर्थात नयाँ वर्षका दिन तितेपातीले नुहाएर पूजाआजा गरी गतानि डुब्का, बटुक, माडालगायतका स्थानीय खानाका पकवान खाने प्रचलन रहीआएको छ । 


प्रतिकृया दिनुहोस