२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

- रासस आइतबार २५, चैत २०८० ११:३९

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

टीकापुर । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ ।

यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् । 

पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि  भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्वपूर्ण मौलिक परम्परा भएको  बताए । ‘यसमा विवाहपछि छोरीले भोगेका समस्या समेटिएका छन्, छोरीको कथा समेटिएकाले यो हाम्रा महिलाको महत्वपूर्ण खेल हो ’, हरेक पर्वलाई पुस्तान्तरण गर्न आवश्यक छ भएको बताउँदै उनले भने । उनले पुतला खेल्ने महिलालाई वडा कार्यालयले पोशाक उपलब्ध गराउने बताए ।

कलाकार रङ्गी थापाले पुतला खेल आफूहरुको मौलिक खेल भएको बताउँदै सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा यहाँको पहिचान भएकाे बताए । उनले छोरीले घरमा भोगेका पीडा तथा विवाह नभएका युवतीले माइती घरमा रहँदाका बह गीतमार्फत प्रस्तुत गरिने यो खेललाई पर्वका रुपमा लिनुपर्ने विचार व्यक्त गरे । 

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो  समाएर सामूहिक रूपमा पङ्तिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ ।

पुतलासँगै महिलाहरुले न्याउल्या खेल पनि खेल्ने गर्छन् । सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेशभूषा लुकेकाले यस्ता संस्कृितलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताउछन् । ‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’, उनले भने, ‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ ।’

जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गमस्थलमा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच सुरु गराएका हुन् । मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झदै पुतला खेल्न लगाएका थिए । त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै आउनुभएकी चन्द्रा भण्डारीले बताए ।


प्रतिकृया दिनुहोस